Shakuntal (Mahakavya) - Bhushita Vasistha
शाकुन्तल (महाकाव्य) - भूषिता वशिष्ठ
Rathoddhata Chhanda Written by Laxmi Prasad Devkota Recited by Bhushita Vasistha Music Directed by Aavaas
Lyrics
Nepali
Transliterated

एक छन् बगलमा प्रियम्वदा ।
मिष्ट-भाषण-मुहारकी सुधा ॥
चारु चाल चपला यता जुदा ।
चारु छन् तरुणभाववैभवा ||

“बोल्दिनौ किन सँगी ! शकुन्तला ?"
'झुक्दछन् नजर निम्न लाम्चिला ॥
छैन हास्य-छवि बैंस चञ्चला ।

"मञ्जरी - कुसुम-रुद्ध भै गला ।
मूक छौ कि भन कण्ठकोकिला ?
या फुलेर मृदुबैंस सुन्तला !
खोज्छ प्रेम भँवरा सुमञ्जुला ?
के छ उत्तर खुला शकुन्तला ?”

मुस्कुराउँछ विनम्र लोचन ।
तेज चढ्छ, बिजुली कि मोहन ?
भाव झल्किन गई छँदो मन ।
लाचिईकन कुना विमोहन ॥
रोक्न कोशिश गरेर मुस्मुस ।
चारु ओठ क्रमका विकासले ॥
पालुवासरि प्रवालका खुले ।
ती कपोल कलि लाल भै फुले ॥
रेखियो मधुरता मुहारमा ।
आँखिभौँ अब उचालिँदा चले ॥
वक्र लोचन बनेर दृष्टिले ।
चारु उत्तर दिइन् कुरै फुले ॥