बबा ! मलाई मार्नै छ भने
तिमी आफैँ मार
आगोले जलाई बिन्ति नमार
मानिसलाई ज्युन चाहिन्छ आगो
आगोलाई यसरी विटुलो नपार
तिमीले रोपेको फूल नै त हुँ म
तयार छु तिम्रै हातबाट मर्न
पानीमा डुबाई बिन्ति नमार
मानिसलाई ज्युन चाहिन्छ पानी
पानीलाई यसरी विटुलो नपार
मारेपछि मलाई भीरमा नफाल्नू
त्यहाँ मेरो सङ्गी सुनाखरी रुन्छ
मारेपछि मलाई जङ्ल नलानू
कुनै रुख झुटो अभियुक्त हुन्छ
माटोले नपुर्नू बिन्ति छ बाबा
माटोमा छ मेरो आमाको आत्मा
बरु खानू बाबा खून चुसी खानू
तिमी नै त हौ नि मेरो देवता
(छोरी जलाउने बाबाहरूलाई)