Badhu Shiksha - Bhushita Vasistha
वधु शिक्षा - भूषिता वशिष्ठ
Recorded live during 'Paleti with Bhushita Vasistha: Chhanda Retrospective - April 2019'
Shardulvikridit Chhanda Written by Bhanu Bhakta Acharya Recited by Bhushita Vasistha Music Directed by Aavaas
Lyrics
Nepali
Transliterated

प्रातःकाल महाँ उठेर पहिले ध्यान् ईश्वरैको गरून् ।
सो ईश्वर पति हुन् भनेर पछि त्यो भक्ती पतीमा धरून् ।।
भक्तीले पति ईश्वरै भनि बुझुन् पाऊ–तलैमा परून् ।
पूजा हो पतिको भनेर घरका काम्मा अगाडि सरून् ।।

झट्पट् स्नान गरेर शुद्ध जलले सब् देह निर्मल् गरी ।
जस्तो पुग्दछ सोहि माफिक असल् धोती कटीमा धरी ।।
सासूका चरण विन्द युगमा पूजेर पाऊ परून् ।
मैले काम गरुँ क्या अह्राउनु हवस् यो ताहिं बिन्ती गरून् ।।

प्राणका नाथ पतिका अगाडी गइ जो फर्माउँछन् सो गरोस् ।
भन्छन् ल्यान तमाखु खान्छु भनि ता चाँडै तमाखु भरोस् ।।
किस्मिस् दाख बदाम मिस्रि नरिवल् जो चिज छ सो सो दिई ।
पाऊ मिच्न तयार भै अघि सरोस् तेल्को कटौरा लिई ।।

हाँस्नू छैन कदापि नारिहरुले बेश्या हुने हाँस्तछन् ।
बेश्या लौ नहउन् तथापि घरको काम् ती सबै नास्तछन् ।।
एक्लै हाँस्न हूँदैन कोहि नभई अर्को सँगी भो जसै ।
हाँस्तैमा दिन जान्छ एहि रितले सब् काम बित्छन् त्यसै ।।