दुनियाँको मुख हेर्न न जन्मेकै भए हुन्थ्यो
जन्मे पनि उही बेला मरिदेको भए हुन्थ्यो
संसारमा थोरै प्रेम धेरै रैछ पापै पाप
एकछिन शान्ति मिले जिन्दगी भर तापै ताप
माया मोह बन्धनले नघेरेकै भए हुन्थ्यो
जति माथि पुग्यो अझै माथि पुग्ने ईच्छा बढ्ने
हिमाल चुली टेकेपछि जून चुम्ने मात चढ्ने
आशा अनि उमङ्गले नहेरेकै भए हुन्थ्यो
मेरो नाता मेरो गाउँ मेरो देश भन्दा भन्दै
एक्लो मान्छे एक्लै जान्छ अँध्यारोमा तारा गन्दै
पीर पर्दा चिसो आँसु नझरेकै भए हुन्थ्यो