Ghadi Phoolko Lahara - Suman Thapa
घडीफूलको लहरा - सुमन थापा
Recorded live during 'Paleti with Suman Thapa: Songs of Vision - October 2019'
Lyrics
Nepali
Transliterated

घडिफूलको लहराले
आँखीझ्याल छोपिसक्यो
कसरी पो हेर्छ्यौ क्षितिज, सिम्मा !
भुइँकुहिरो उठिसक्यो

धागो बुन्दाबुन्दै
तिम्रो जीवन, धागो भइजाला
भर छैन जिन्दगीको
बतासैले छिनाइदेला
इन्द्रेनीले मायाको गाउँ
थाहै नदिई छोडिसक्यो
कसरी पो हेर्छ्यौ क्षितिज, सिम्मा !
भुइँकुहिरो उठिसक्यो

दैलो पोत्दापोत्दै
तिम्रो जीवन, दैलो भइजाला
भर छैन यहाँ कसैको
आशैआशमा जुनी जाला
सेतो बादल फेटा बाँधी
घाम पश्चिम ढल्किसक्यो
कसरी पो हेर्छ्यौ क्षितिज, सिम्मा !
भुइँकुहिरो उठिसक्यो

पानी भर्दाभर्दै
तिम्रो जीवन, पानी भइजाला
खहरेझैँ उर्लुँभन्दा
शीरफूल खसिजाला
बल्दैन त्यो आकाशबत्ती
हेर सगर डढिसक्यो
कसरी पो हेर्छ्यौ क्षितिज, सिम्मा !
भुइँकुहिरो उठिसक्यो