थुङ्गाबाट छुटी अचानक कुनै चर्को हुरीमा परी
सानू लाल गुलाफका कुसुमको पत्ती उडे झैं गरी ।
हुच्चीमा अरुको फँसी बहकिँदै आए ज्यादा पर
भोग्दैछू परदेशमा म जननी ! तड्पेर लाखौं पिर ।
हुर्दुङ्ग्पनमा परेर अघि नै खल्ती सबै रित्तियो
आँशूका भरमा कठै !! जठरको ज्वाला ननिभ्ने भयो ।
थाकें योग्य अनेक कामहरुको खोजी तलासी गरी
लाचारी–वश आखिरी शरण भो निर्लज्ज कुल्लीगिरि ।
यै कुल्लीगिरिमा पनी हरघडी बाधा अनेकौं थरी
मैजजस्ता हतभाग्य अन्धहरूका धक्का र धुक्की परी ।
यस्तो दुर्गतिमा परेर जननी ! शुक्ता पनी जीवन
तिम्रै पाद–सरोजका‚ स्मरणले थामीरहेछू मन ।
कुल्ली–काम गरी अटूट पसिना मैले बगाएँ जति
दन्केको जठराग्निमा बनि–शके सम्पूर्ण ती आहुति ।
आँशूमा पनि खास आहुति हुने त्यस्तै भए तागत
फर्कन्थें उहिल्यै म रेलपथको गर्दै ठुलो ‚स्वागत ।
सुन्दैछू समचार यो म जननी ! ‘सर्वत्र नेपालमा
माहेन्द्री मधुर प्रभा दिनदिनै बढ्दै छ रे हालमा’ ।
पाए खर्च तुरून्त राजपथमा आएर जुट्ने थिएँ
सच्चा राष्ट्रिय भावको जुनिभरी आनन्द लुट्ने थिएँ ।