मंगले-
सधैँ त तिमी उजेली मुहार बलुँ झै धपधपी
आजैको दिन रोइरैछौ किन शीत झैँ तपतपी
मालती-
पहिलो पाली प्रियलाई देख्दा हर्षले रोइरहेँ
पुछेर आँसु त्यै बेलादेखि उजेली भइरहेँ
मंगले-
आज त आँसु थामिन्न तिम्रो जति नै पुछुँ मैं
भुलभुल आँसु टुलटुल हेरी कसरी बाँचु मैं
मालती-
प्रियको अघि आँसुमा बगी हलुका हुन्छ दिल
सूर्य अघि पलक खोली शीतमा रुन्छ फूल
मंगले-
छाया घाम लघारी रैछ छिम्काको भीरैभीर
मसित पनि नभन्न हुने यो कस्तो पर्यो पीर