कोशी छेऊ उभेको सिमल जति नि बाँच्दिन म
त्यही सिमल काटी बनेको डुङ्गा जति नि बाँच्दिन म
त्यो माथि माथि आकाश नीलो छ
डुङ्गा मुनिको नदीको दह अझै नीलो छ
यी दुबैको बीचको बहना लिएको म
सेतै सेतै भईसकेँ
माछा मार्ने जाल फ्याँक्दा मेरो एउटा आयु खस्छ
नाऊ वारीपरि गर्दा मेरो जम्मै आयु खस्छ
नदी पनि सुकेको छैन आकाश पनि झरेको छैन
यी दुबैको बीचको बहना लिएको म
मृत्यु नजिक भईसकेँ
एकदिन म मरुँला संसारमा नरहुँला
मेरो सिमल काठको डुङ्गा पनि मक्किएर जाला
तर युग-युगसम्म यो नदी यो आकाश रहिरहला
नदी तार्ने बुढो माझीको काम यो संसारमा रहिरहला
हो हो
जीवन भन्नु के हो र
बाँच्दा गरिने काम न हो
अघि-अघिका पुर्खाहरू पछि आऊने सन्ततिहरू
यी दुबैको बीचको बहना लिएको म
एकदम बुढो भईसकेँ