म प्रीति लाउनलाई आएँ, म आफ्नु बनाउनलाई आएँ
जहाँ जहाँ तक फैलिएथ्यो त्यहीँ त्यहीँ म आएँ
नानी घामको लाली बोकेर तिम्रो मुहारमा छाएँ
सुन्दर पार्न ती केश तिम्रा कालो रात तानी ल्याएँ
तिम्रो मुटुलाई बिस्तरा पार्न आकाश भएर छाएँ
नेपालकी छोरी तिमीलाई सुनकेशरी भन्दै आएँ
नेपालीको बस्ती बस्तीमा साइनो केलाउन आएँ
तिमीलाई निर्धा देखेर पीडा छातीमा थाप्न आएँ
तिम्रा अमिला पसिना दाना माला बनाई उनेँ
पिरती हाम्रा अग्ला छ भनि पहाड माथि बुनेँ
खोइ त मेरो धनुमा ताँदो, त्यो केश माग्न आएँ
खोइ त तिम्रा जोशिला हात, खुकुरी माग्न आएँ
किल्लाको पर्खाल बनाउने तिम्रा शरीर माग्न आएँ
बलभद्रकी छोरी तिमीलाई सम्झाई राख्न आएँ