मर्न मन लाग्छ मलाई कालै आउँदैन
सपनीको लौरो टेकी हिंड्नै सकिएन
चिताएको धेरै कर्म गर्न सकिएन
बलियो छँदा आमा बालाई धक्कु लगाइ हिंड्थेँ
भालू बाँसको तामासरि अकाश छेड्छु भन्थेँ
वृद्ध, रोगी, अपाङ्गलाई खिसी-ट्युरी गर्दै
म कसैको बोझ हुन्न भन्दै फूर्ति गर्थेँ
समयको फेरोलाई जित्नै सकिएन
रङ्ग रउस हाँसखेल गर्दै जीवन बुझिएन
केमा रह्यो घिट्घिटो मर्न सकिएन
मर्न मन लाग्छ मलाई कालै आउँदैन
भाग्य खोज्दै मनहरू बहकिंदो रैछ
जाँ गए नि यही पुर्पुरो अघि लाग्दो रैछ
हुनेलाई जता छोयो उतै सुखैसुख
म जस्ताको भाग्यमा नै ग्रहण लाग्दो रैछ
हिंड्दा हिंड्दै पाउ बसे आँगन भयो परदेश
क्षितिज जस्तै टाढा भए आफ्नै पहाड मधेश
के तृष्णामा अल्झी बस्यो एक मुठी यो सास
मर्न मन लाग्छ मलाई कालै आउँदैन