नूनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर
कहाली लाग्दो अक्करको भीरमा सासलाई रोकेर
के गरी तर्नु पिखुवाको बाइसै जंघार
आत्तिएर मन रुन्छ कठै घरलाई सम्झेर
सून–बालुवाको बगरमा मैले सून कहिले भेटिनँ
निस्वार्थी भई मायामा गर्ने मान्छे नै देखिनँ
न बासको टुंगो न गाँसको टुंगो भदौरे झरीमा
रुझेको तनले गलेको मनले हिंड्न नै सकिनँ
पारपानीको ठाडो उकालो थाकेको बेलामा
डाँडामा पुग्दा तिर्खा है लाग्छ पानी छ खोलामा
रिंगटा लाग्ने थाप्लोमाथि चर्किंदो घाममा
भारी बिसाउँदा पसिना पुछ्ने टोपी छ शीरैमा
उमेरसँगै जिन्दगीलाई धकेल्न साह्रो भो
सम्झेर ल्याउँदा जन्मेको घर झन्झन टाढा भो
नौ नारीदेखि गलेर आउँछ पाइला सर्दैन
हिंडनु पर्ने मूलबाटोलाई छोट्याउन गाह्रो भो